बुटवल– कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन्।
सरकारको निर्देशन अनुसार विद्यार्थीबाट लिइएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्नेमा कलेजले वास्ता नगरेपछि विद्यार्थीहरु बिहीबारदेखि आन्दोलित छन्।
सरकारले मेडिकल कलेजलाई तोकेभन्दा बढी रकम फिर्ता गर्न असोज ६ गते एकमहिने अल्टिमेटम दिएको थियो। तर कलेज प्रशासनले फिर्ता नगरेपछि विद्यार्थी आन्दोलित भएका हुन्।
विद्यार्थीहरुले प्लेकार्डसहित कलेजको प्रशासनिक भवन अगाडि धर्ना र र्याली गर्दै आएपनि कलेज प्रशासनले रकम फिर्ता गर्नेतर्फ चासो देखाएको छैन।
सरकारले दिएको निर्देशन अटेरी गर्ने कलेज प्रशासनलाई शुल्क फिर्ता गर्न लगाउनुको सट्टा आन्दोलित विद्यार्थीमाथि नै दमन गरेको विद्यार्थीहरुले आरोप लगाएका छन्।
विद्यार्थीहरुले परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेअनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनु पर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्डअनुसार वृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि कुनै प्रकारको विभेद नगर्न विद्यार्थीले माग गरेका छन्।
कलेजमा इन्टर्नसिपमा आएका चिकित्सकले समेत हातमा कालोपट्टी बांँधेर विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।
कलेज प्रशासनले विद्यार्थीका मागपत्रबारे कुनै प्रतिक्रिया नदिएको विद्याथीको गुनासो छ। कलेजले मौखिक छलफलमा आउन आग्रह गरेको तर आफूहरुले लिखित मागहरु औपचारिक रुपले बुझ्नुपर्ने अडान राखेको आन्दोलनको अगुवाई गरेका एक विद्यार्थीले बताए। कलेज प्रशासनले भने कलेज बाहिरका विद्यार्थी ल्याएर आन्दोलन गरेको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा समेत रोक लगाएको छ।
बुधबार चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द सहितका विद्यार्थी नेता आएर युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएर फर्केका थिए। विद्यार्थीले अवैध रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता गराइदिन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसामु निवेदन दिएका छन्।
विद्यार्थीहरुले बढी शुल्क तिरेको रसिदसहितका प्रमाणहरु पनि प्रमुख जिल्ला अधिकारीलाई दिएका छन्। विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि कलेजले विद्यार्थीमाथि प्रहरी प्रशासन लगाएर हस्तक्षेप गरेको विद्यार्थीहरुको गुनासो छ।
‘अवैध रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न तयार हुनुको साटो कलेजले विद्यार्थीमाथि दमन गर्न थालेको छ’, आन्दोलनको अगुवाई गरिरहेका एक विद्यार्थीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,‘विद्यार्थीहरुलाई होस्टेलबाट बाहिर निस्कन नदिने र आन्दोलनमा आएका विद्यार्थीलाई होस्टेलमा जान नदिई रातभर बाहिरै बस्न वाध्य पार्ने काम कलेज प्रशासनले गरेको छ।’ शुक्रबार विद्यार्थीले मागपत्र बुझाउन खोज्दा केहीबेर तनाव उत्पन्न भएको थियो।
प्रहरीले लाठीचार्ज गरेपछि प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको थियो। प्रहरीले बुटले कुल्चिँदा एकजना विद्यार्थीको खुट्टाको औंलामा चोट लागेको छ। कलेजका विद्यार्थीहरुले केही दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा अवैध रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका थिए।
निवेदन दिएको १० दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन्।
कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङ्गले विद्यार्थीका मागबारे छलफल गर्न कलेज प्रशासन तयार रहेको बताए । बढी असुल गरिएको रकम फिर्ताका सम्बन्धमा आफूले बोल्न नमिल्ने भन्दै गुरुङले प्रतिक्रिया दिएनन् ।
असोज ६ गते गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित गृह मन्त्रालयमा भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजहरुलाई कारबाही प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको थियो। सरकारको निर्णय अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने निर्णय भएको थियो।
युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तिमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीले बताए।
‘एकजना विद्यार्थीबाट पहिलो र दोस्रो वर्ष तीन लाख र तेस्रो र चौथो वर्ष दुई लाखका दरले बढी रकम असुलिएको छ’, नाम उल्लेख नगर्न आग्रह गर्दै ती विद्यार्थीले भने,‘बढी असुलिएको शुल्क छिटो फिर्ता वा समायोजन गर्न कलेज तयार नभए आन्दोलन जारी रहन्छ।’ ती विद्यार्थीका अनुसार युनिभर्सल मेडिकल कलेजले पाँच सय जना भन्दा बढी एमबीबीएसका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने छ।
युनिभर्सलले एमबीबीएस विद्यार्थीसँग मात्र नभई बीडीएसका दुई सय, नर्सिङका एक सय ५० जना र प्यारामेडिक्स पढ्ने सय जना भन्दा बढी विद्यार्थीसँग पनि अतिरिक्त शुल्क असुलेको विद्यार्थीको गुनासो छ। विद्यार्थी आन्दोलनकै कारण चितवन मेडिकल कलेजले बढी लिइएको शुल्क समायोजन गर्न तयार भइसकेको छ।
०७२ सालपछि सरकारले मेडिकल शिक्षाको शुल्क तोकेपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउने निर्णय भएको थियो। काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ।