सिन्धुली: सिन्धुलीका अधिकांश पालिका र वडाले आफ्नै कार्यालय भवन निर्माण गरेका छन् । भाडाका घरमार्फत सेवा दिने कार्यालयहरूले पनि कार्यालय भवन निर्माण धमाधम गरिरहेको बताएका छन् ।
आफ्नै कार्यालय भवन नभएकाे घ्याङ्लेख गाउँपालिकाले भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जनाएकाे छ । घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनका अनुसार चालु आर्थिक वर्षकाे मसान्तसम्ममा सक्ने गरी भवन निर्माण ठेक्का सम्झौता भएको छ । तर, विवादका कारण भवन निर्माण भने कार्य सुरु नै नभएको अध्यक्ष भोलनले बताए । ६२ लाख लागतमा भवन निर्माण हुने गरी सम्झौता भएको छ । हाल पालिका विद्यालय भवनबाट संचालित छ ।
तीनपाटन गाउँपालिकाको कार्यालय भवन पनि धमाधम निर्माण भइरहेको छ । धमाधम भवन निर्माण भइरहेको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले बताए । २५ असार २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी एमएम-पाएन्स जेभीसँग सम्झौता भएको छ ।
दुधौली नगरपालिकाको कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको नगरपालिकाका मेयर घनश्याम राउतले बताए । मंसिरमै नगरपालिकाको कार्यालय आफ्नै भवनबाट संचालन हुने उनको भनाइ छ ।
सुनकोशी गाउँपालिकाको कार्यालय भवन पनि धमाधम निर्माण भइरहेको गाउँपालिकाकी अध्यक्ष दिपा दाहालले बताइन् । ८० प्रतिशत सम्पन्न भइसकेको छ । दाहालका अनुसार आफ्नो कार्यकालभित्र पालिकाकाे कार्यालय भवन निर्माण भइसक्नेछ ।
फिक्कल गाउँपालिकाको कार्यालय पक्की भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए । उनका अनुसार संघ र प्रदेशको सहयोगमा पालिकाको कार्यालय भवन निर्माण हुन लागेकाे हो । हाल रहेकाे कार्यालय भवन पनि पालिकाकाे आफ्नै हाे । भवन साँघुरो भएका कारण पक्की भवन निर्माण गर्हुन लागेकाे हाे ।
गोलन्जोर गाउँपालिकाले भने भाडाकाे भवनमार्फत कार्यालय सन्चालन गरिरहेको छ । गाउँपालिकाले हालसम्म पनि भवन निर्माण सुरु गरेकाे छैन् । कमलामाई नगरपालिका, हरिहरपुरगढी र मरिण गाउँपालिकाले भने आफ्नै भवनमा कार्यालय सन्चालन गरिरहेका छन् ।