तम्घास: गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।
आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाइ रहेका र दाइ हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम गर्छन् ।
“दिनभर पैसा माग्छौँ, एक जनाले रु पाँचदेखि ४० सम्म दिन्छन्”, सागरले भने, “मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।” उनी खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उनी बताउँछन् ।
हिमालले विद्यालय सञ्चालन हुने/नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र रातिमाबाहेक अन्य समयमा आफूहरु कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने उनी बताउँछन् ।
सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्रमात्रै हुन् । उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् ।
होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् ।
सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानीगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् ।
बसपार्क र उदिनढुङ्गामा मानिस सवारी चढ्ने/ओर्लने भएकाले बालबालिकाहरूको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकाशंका बाबु–आमा छन् ।
उनीहरूको राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । यसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
पसलबाट सामान लैजान्छन्: व्यापारी
बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्नेमात्रै होइन, पसलबाट खानेकुरा समेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोट, बिस्कुट लगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् ।
“म नभएको बेला आफैँ झिकेर कयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन ।” बसपार्कमा किराना पसल सञ्चालन गर्दै आएका हरि पाण्डेले भने, “सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।” तत्कालै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने उनले बताए ।
धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीय रमेश विश्वकर्माले घर छाडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका र पछिल्लो केही वर्षयता तम्घासमै बस्दै आएका छन् ।
बसपार्कमा उहाँ र श्रीमतीसहित दुई छोरा र दुई छोरी बस्छन् । यसमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्ने उनले बताए । “मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ”, उनले भने, “केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।”
छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको उनले सुनाए । राज्यले पढाइ खर्चमा सहयोग गरे विद्यालय पठाउने पनि उनले प्रतिबद्धता जाहेर गरे । पल्लेदारकै रूपमा काम गर्ने अर्का अभिभावक सुशील नेपालीले पनि राज्यले सहयोग गरेमा आफ्ना बालबालिकालाई विद्यालय पठाउने बताए ।
बजारमा बालबालिका छाड्नेहरूका अभिभावक तम्घासमै पल्लेदारका रूपमा काम गर्छन् । उनहरुले ज्यालादारी गरेर दैनिक सातदेखि एक हजारसम्म आम्दानी गर्छन् ।
अधिकाशं अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताए ।
त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्ती पैसा लगेकोजस्ता उजुरी कार्यालयमा आउने उनको भनाइ छ ।
तम्घासमा माग्दै हिँड्ने १३ बालबालिका रहेको र उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको उनले बताए ।
“तेह्र जनामध्ये दुई जनाका मात्र अभिभावक छैनन्, बाँकी ११ जनाका अभिभावक भएर पनि स्याहार नगरेका हुन्”, सूचना अधिकारी पाण्डेले भने, “अहिलेलाई विद्यालय पठाउने तयारी भइरहेको छ ।”
यसका साथै उनले राज्यले नै एउटा नीति बनाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तहले बालबालिकाको जिम्मेवारी लिनुपर्ने र नभए परिवार स्वयंले लिनुपर्नेमा बताउछन् । रासस