बलेवा: मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएका छन् ।
काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेका हुन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गा समेत उपयोग गरेर उनले कमाइ गरेका छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।
उनले आफ्नो जमिनबाहेक मासिक रु छ हजार भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएका छन् । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उहाँले लामो समयदेखि निरन्तर खेतीमै जोड दिएका छन् । एक वर्षमात्र हैन, पछिल्लो सात वर्षदेखि उनले नियमित कमाइ गर्न सकेका हुन् ।
उनले भने, “कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ ।” तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उनले बताए । दश वर्षअघिसम्म खान लाउने समस्याले पुनले ज्याला मजदुरी गर्थे ।
चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जमिनमा खेती गर्ने योजना बनेका थिए । त्यो अभियानले अहिले उनी अगुवा र कर्मठ किसानमा गनिन्छन् । उनको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।
उनको बारीमा हिउँदमा लटरम्म फल्ने केराउ, काउली र मोटरकोसा, बर्षात्मा खुर्सानी, गोलभेडा लगायत तरकारी लगाएर यो सफलता पाइएको छ ।
“सिजन अनुसार फल्ने तरकारी पनि लगाएकी छु, बेमौसमी तरकारी प्लाष्टिकको घरमा लगाउँछु”, उनले भने, “महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेर सफल भएकी छु ।”
धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएको र अहिले सबैखाले खेती थालेको उनी बताउछन् । उनले भने, “टनेलभित्र गोलभेडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख कमाउन सकेँ ।”
अहिले पनि उनका टनेलमा गोलभेडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दा जस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उनले बताए। रासस