बुटवल– बुटवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको छ। सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकाहरुसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन्।
झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जना थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।