रामपुर: पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्याे ।
अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरुको दैनिकी नै बदलिएको छ भन्छन्, स्थानीयवासी भीमकुमारी सोती ।
उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ लगाएर पानी बोक्नुपर्ने समस्याले पहिला निकै पिरोल्थ्यो । अहिले त्यस्तो छैन । त्यो समयमा उहाँले अहिले अरू नै काम गर्न पाएका छन् ।
उनी भन्छन्, “पहिला पानी कहाँ पाइएला भनेर नजिकका खोला खोल्सीमा गाग्री बोकेर धाउनुपथ्र्यो, अहिले त घरघरमा पानीका धारा छन् । यसरी घरमै पानी भर्न पाउँदा हामीलाई त गाउँमा ठूलै विकास भएजस्तो लागेको छ ।”
रामपुर नगरपालिका र रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा वडा नं ४ काँसजरी गाउँमा पानीको सुविधा पुगेसँगै भीमकुमारी सोतीझैँ यहाँका अन्य स्थानीयवासीलाई गाग्रीमा अन्यत्रबाट खानेपानी बोकेर ल्याउनुपर्ने समस्या टरेको छ ।
गाउँमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि नुहाउन, धुन तथा गाईभैँसीलाई खुवाउन पनि कुवा, खोल्सी तथा खोलामा खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने समस्या थियो ।
अहिले त खानेपानीको समस्या समाधान भएसँगै स्थानीयवासीले करेसाबारीमा सिँचाइ पनि गर्न थालेका छन् । एक गाग्री पानी लिन एक घण्टासम्मको समय खर्चन बाध्य यहाँका स्थानीयवासीले घरको आँगनमा जडान भएको धारामा पानी आउन थालेपछि गाउँको मुहार नै बदलिएको गायत्री श्रेष्ठ बताउछन् ।
नगरपालिकाको रु पाँच लाख सहयोग र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि केही अघिदेखि आयोजनाको पानी घरघरमा ल्याइएको रामपुर नगरपालिका–४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी राना बताउछन् ।
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना रामपुर नगरपालिकामा सञ्चालनमा आएपछि पानी उपभोगका लागि स्थानीयवासीलाई ठूलो राहत पुगेको छ ।
खानेपानी आयोजना सञ्चालन गर्नुभन्दा अघि पानीको दिगो स्रोत नहँुदा चापाकल, इनार, कुवा, खोलाका पानीमा आश्रित रहनु परेको बेझाड बजारका स्थानीयवासी मणिराज तिवारीको भनाइ छ ।
“चापाकलबाट पानी निकाले पनि गर्मीयाममा पर्याप्त नआउँदा धेरै सास्ती थियो, अहिले बिहान–साँभm नियमित पानी उपभोग गर्न पाइएको छ, महसुल भने केही महङ्गो छ, शुल्क कम गरी सुलभ रुपमा उपभोक्तालाई पानी वितरण गर्नुपर्यो,” तिवारीले भने ।
यहाँका स्थानीयवासी स्रोतमा खडेरीयाममा पानीका स्रोत सुक्दै जाने हुँदा स्थानीयवासी एक गाग्री पानीका लागि पनि घण्टौँ समय बिताउन बाध्य हुने गर्दथे । पाल्पा जिल्लाकै ठूलो आयोजनाका रुपमा रहेको यस रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट हाल रामपुरको तल्लोफाँट क्षेत्र वडा नं ४, ५, ६ र ७ का विभिन्न बस्तीका घरघरमा खानेपानी सुविधा पुगेको छ ।
हालसम्म तीन हजार ६२७ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार २०० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुरर सारु बताउछन् ।
यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ (एउटै समय) ५ देखि ८ बजेसम्म तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ । जसमा न्यूनतम शुल्क दुई सय ७५ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र) तोकिएको छ ।
दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट रु ४२ तिर्नुपर्ने हुन्छ भने रु २० हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट रु ६३ शुल्क कायम गरिएको व्यवस्थापक सारुले जानकारी दिए ।
नगरको वडा नं ५ बेझाड बजारमाथि रहेको राम्चे सामुदायिक वनमा साढे चार लाख लिटरका दुईवटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एकवटा दुई लाख लिटर र कार्कीडाँडामा एकवटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।
बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङमध्ये दुईवटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ ।
उपभोक्ता सदस्यता बढ्दै जाँदा र पानी वितरणको समय बढाउन राम्चे सामुदायिक वनमा दुई लाख लिटरको एक वटा रिजर्भ ट्याङ्की, डुम्रीगाउँ क्षेत्रमा एकवटा चार लाख लिटरका रिजर्भ ट्याङ्की निर्माण गर्ने योजना छ । जनघनत्व बढ्दै गएकाले डुम्रीगाउँ क्षेत्रमा एकवटा डिप बोरिङ आवश्यक छ ।
बोरिङ प्रणालीबाट निकालिएको पानी फिल्टर गरेर उपभोक्ताको घरघरमा पुर्याइएपछि पानीको हाहाकारको समस्या टरेको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउछन् ।
“पानी वितरणको समय बढाउने, पानीको चुहावट मर्मत, न्यूनतम महसुल शुल्क रु २७५ लाई घटाउन साधारणसभामा पेस गर्ने, ट्याङ्की निर्माण, पाइप लाइन विस्तार गर्ने योजना छ, सकेसम्म उपभोक्तालाई कम शुल्कमा पानी वितरण गर्ने प्रयासमा समिति लागेको छ,” अध्यक्ष श्रेष्ठले भने ।
उनका अनुसार आव २०७८/७९ मा केन्द्र सरकारबाट खानेपानी मर्मतसम्भार, ट्याङ्की निर्माण शीर्षकमा रु ४५ लाख बजेट विनियोजन भएको छ । यसभन्दा अघि नयाँ सदस्यताका लागि प्रतिघरधुरी रु २० हजार सदस्यता शुल्क निर्धारण गरिएकामा २०७८ साल असोज १ गतेदेखि लागू हुने गरी रु २२ हजार शुल्क तोकिएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा २०० नयाँ सदस्य थपिएका छन् ।
नयाँ थपिएका उपभोक्ता सदस्यबाट रु ४० लाख ८५ हजार, खानेपानी महसुलबाट रु एक करोड ४७ लाख आम्दानी भएको छ भने नयाँ सदस्यता थपसहित विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा कूल आम्दानी रु दुई करोड १७ लाख भएको र गत आर्थिक वर्षको रु एक करोड ८० लाख छ ।
अहिले चालु भइरहेको आयोजनाले रामपुर नगरका करिब चार हजार घरधुरीमा धारा जडान गरी पानी वितरण गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । बोरिङबाट पानी तानेर उपचार विधि गरेर फिल्टर गरिएको पानी घरघरमा पुर्याइएको छ ।
यस कार्यालयमा १३ जना कर्मचारी कार्यरत छन् । नेपाल सरकार नगर विकास कोषको सहयोगमा विसं २०६७ मा सुरु भएको आयोजना २०७३ साल भदौमा परीक्षणका रुपमा सफल भएपछि त्यस समयदेखि नै खानेपानी वितरण गर्न थालिएको हो ।
नगर विकास कोषको रु साढे २४ करोडको बोलपत्र आह्वान भएकामा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजना सञ्चालन भएको हो । नगर विकास कोषसँग ४५ प्रतिशत ऋण सहयोग लिएर आयोजना सञ्चालन गरिएको छ ।रासस