तुल्सिपुर: सामुदायिक वन समूहको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले संस्थाका सचिवालय सदस्य सविना राईको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ ।
महासङ्घले दाङ तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न छैटौँ राष्ट्रिय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सविना राई स्मृति सामुदायिक वन अभियन्ता सम्मान अक्षयकोष स्थापना गर्ने जानकारी दिइएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका–३ बालाङसिङमा विसं २०४१ मा जन्मनुभएकी स्व राईको गत साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो । उनका श्रीमान् र एक छोरी छन् ।
वनको संरक्षण, संवद्र्धन र विकास एवं विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी संस्थाको सचिवालय सदस्य स्व राईको स्मणमा कोष स्थापना गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए ।
उनका अनुसार महासङ्घले रु एक लाख राखेर स्थापना गरेको सो कोषमा तुलसीपुर उपमहानगरपालिकाबाट रु २५ हजार तथा बैठकका सहभागीबाट स्वस्फूर्त रु ४५ हजार ८४५ गरी कूल रु एक लाख ७० हजार ८४५ सङ्कलन भएको छ ।
“देशभरिका सामुदायिक वनका सङ्घ, प्रदेश, जिल्ला र स्थानीय महासङ्घलाई कोषमा आर्थिक सहयोग गर्न आह्वान गरिने बैठकले निर्णय गरेको छ”, अध्यक्ष पाठकले भने, “जुन अभियानबाट कोषमा रु एक करोडभन्दा बढी सङ्कलन हुने विश्वास लिइएको छ ।”
अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष वन क्षेत्रको हक, अधिकार र विकासमा महत्वपूर्ण भूमिका खेल्नुहुने दुई जनालाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिने बताउँदै उनले भने, “शोकलाई शक्तिमा बदल्दै स्व राईका अधुरा सपना पूरा गर्नु हामी सबैको कर्तव्य हो ।”
स्थानीय सङखाम सामुदायिक वनको उपभोक्ता समूहमा आवद्ध उनी राजनीतिक, सामाजिक, सञ्चार, महिला सञ्जाल रक्षक, खेलकुद लगायत विभिन्न क्षेत्रमा सक्रिय रहँदै आउनुभएको स्व सविना राईका भाइ अर्जुन राईले जानकारी दिए ।
महासङ्घद्वारा दाङको तुलसीपुर महानगरपालिकाको सभाहलमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उनले परिवारिक सरसल्लाह गरेर दिदीको स्मृतिमा केही गर्ने सोच रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले नगरको तर्पmबाट सविना राई स्मृति कोषमा रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गर्दै प्राकृतिक स्रोतको दिगो विकाससँगै वनमा आधारित उद्योग स्थापना गरी हरित रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रत्येक वर्ष जेठ १८ गते महासङ्घ स्थापना दिवसका अवसरमा वितरण गरिने सम्मानलाई निष्पक्ष र प्रभावकारी बनाउने लक्ष्यका साथ कोष सञ्चालन कार्यविधि निर्माण गरिने महासङ्घका महासचिव विर्खबहादुर शाहीले जानकारी दिए ।
विश्वमा नेपाललाई सामुदायिक वनको देश भनेर पहिचान बनाएको महासङ्घमा २२ हजार ४१५ समूहका २९ लाख २७ हजार ३२९ घरधुरीले २२ हजार ७२ हजार ३५६ हेक्टरभन्दा बढी वन व्यवस्थापन हुँदै आएको महासङ्घका सचिव ठाकुर भण्डारी बताउछन् ।
खेलकुद नगरी तुलसीपुर उपमहानगरपालिकामा आयोजित महासङ्घको सम्पन्न तीनदिने उक्त बैठकले सविना राई स्मृति कोष स्थापना सहित २२ बुँदे दाङ घोषणापत्रसमेत सार्वजनिक गरेको थियो ।रासस