लमजुङ: अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आमाको नामबाट सहज रूपमा नागरिकता दिलाउन माग गरेकाे छ । आमाकाे नामबाट सहज रूपमा नागरिकता उपलव्ध दिलाउन राख्दै संघले जिल्ला प्रशासन र आठवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
सं0विधानमा उल्लेखित महिलाको अधिकार कार्यान्वयनका लागि राज्यका हरेक संयन्त्र गम्भीर हुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएकाे संघकी जिल्ला इन्चार्ज शोभा थापाले जानकारी दिइन् ।
संघले बुझाएकाे ज्ञापन पत्रमा स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाता वरपर निश्चित दूरीसम्म धुमपान, मध्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीको आराम कक्ष शौचालयको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
यस्तै प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृहको व्यवस्था गर्नुपर्ने, सबै गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउनु पर्ने, हिंसा पीडित महिलाका लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउनु पर्ने, छोरीका लागि जन्मेपछि खाता व्यवस्था र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्ने माग राखिएकाे छ ।
यसैगरी, स्यानिटरी प्याडको सहज वातावरण मिलाउनु पर्ने, नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा एकजना स्टाफ नर्सको व्यवस्था गर्नुपर्ने, छोरासरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागु गर्नुपर्ने, लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी जनचेतना, तालिम सीप सिकाई आदिको प्रयोग गर्नुपर्ने, नगरपालिका र गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घोषणा गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छन् ।