बुटवल-नेपालले अंग्रेज सेनालाई परास्त गरेको खुशीयालीमा आज पाल्पामा भगवती जात्रा मनाइएको छ।
२सय३औं भगवती रथजात्रा भने धुमधामका साथ नमनाएर सामान्य औपचारिक पूजामात्रै गरेर मनाएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। कोरोना महामारीका कारण सीमित संख्यामा मात्रै उपस्थित भएर मन्दिर परिसरभित्र मात्रै जात्रा गरिएको हो।

भगवतीको मन्दिरभित्रै रथ परिक्रमा गरेर औपचारिकताका साथ कार्यक्रम समापन गरेको उनले बताए। स्वास्थ्यका मापदण्ड पालना गर्दै नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएको र जात्रा विसर्जन गरेको उनले बताए।
'महामारीका कारण गतवर्ष पनि जात्रा धुमधामले मनाउन पाइएन, यसपटक पनि त्यस्तै भयो, उनले भने-यो खुशीयालीको अवसरलाई अर्को वर्ष धुमधामले मनाउन पाइने आशा छ।'
पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ।
२ सय ३ वर्षअघिदेखि मनाइदै आएको यो जात्रालाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ। जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ।

घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए।
दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ।
अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ।

सबै तस्वीर सौजन्य: मुक्ति न्यौपाने