धरान: यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।
जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
पक्राउपर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबरर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित थिए ।
आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
“अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,” प्रहरी उपरीक्षक थापाले भने, “हामी पुराना फाइल हेदैछौँ । दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।”
प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ परेकाहरूबाट ८० वर्ष दुई महिना २३ दिन कैद भुक्तान र रू १४ लाख ७९ हजार ५०० जरिवाना असुल भएको भएको छ । रासस