वालिङ: राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ लाई पुष्टि गर्ने एउटा सशक्त उदाहरण हुन्, शान्ता नेपाली ।
स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङ बजार नजिकै रहेको खेल मैदान छेउमा सानो झुप्रोभित्रबाट तीव्र इच्छा शक्तिसहित उम्रेको पालुवा हुन्, शान्ता । खेल मैदानको छेउमा लामो समयदेखि ओत लाउँदै आएका उनलाई बास छाड्नुपर्ने समस्या एकातिर छ भने आफ्नो जग्गा जमिन नभएकाले ओत बनाउने पनि ठाउँ छैन ।
वालिङ नगरपालिकाले तत्कालका लागि खेलमैदानको किनारमा रहेको सार्वजनिक शौचालयको माथिल्लो तलामा उनी बस्ने व्यवस्था मिलाएको छ । वृद्धबुबा, आमा र सुस्तमनस्थितिकी दिदीसहितको परिवारको सहाराकारुपमा रहनु भएकी शान्ताले नजिकैको आँधीखोलामा गिटी कुट्ने, बालुवा चाल्ने, होटलमा कपडा धुने गरेर घर खर्च चलाउँदै आएकी थिइन् ।
आफूले काम नगरी साँझ, बिहान खानको जोहो नहुँदानहुँदै पनि फुटबलप्रतिको उच्च मोह र लगावकै कारण आज विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शनसमेत गर्दै आएकी छिन्, शान्ताले ।
उनी बिहान दिउँसो काममा जाने र साँझ ५ बजेपछि खेल मैदानमा फुटबलको अभ्यास गर्न जान्छन् । कहिलेकाहीँ काम अबेरसम्म गर्नुपर्ने हुनाले समयमै अभ्यास गर्न आउन नपाउँदा दुःख लागेको अनुभव पनि उनीसँग प्रशस्तै छन् ।
“अरु साथी जस्तै मलाई पनि एकदिन पनि नविराइ निरन्तर अभ्यास गरौँ भन्ने त चाहना हुन्छ नि”, शान्ताले भनिन्, “तर के गरौँ काम नगरी साँझ बिहान घरको चुल्हो पनि त बल्दैन ।”
सानो छँदा फुटेको भलिबलभित्र कपडा तथा कागज पोको पारेर फुटबल खेल्न शुरु गरेकी शान्ताले पाँच वर्षअघिदेखि वालिङस्थित क्लबबाट तथा नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपालका विभिन्न शहर तथा भारतमासमेत पुगेकी छिन् ।
उनले वालिङ, पोखरा, विराटनगरका विभिन्न क्लबबाट राष्ट्रियस्तरका विभिन्न उमेर समूहका खेल खेलेर पुरस्कार समेत हात पारेकी छिन् । “विभिन्न ठाउँमा गई खेल प्रदर्शन गरेर पुरस्कार पाइन्छ तर तिनै पुरस्कार राख्ने ठाउँ छैन, शिल्ड, मेडल राख्ने र झुण्डाउने ठाउँको अभाव छ”, शान्ताको गुनासो छ ।
खेलमा अझै मेहनत गरेर राष्ट्रिय टिमबाट देशका लागि खेल खेल्ने रुचिले जरा गाडेर बसेको छ उनमा । जतिसुकै बिघ्नबाधा, आरोहअवरोध आइरहुन् तर आफू लक्ष्यमा पुगेरै छाड्ने आफ्नो दृढ सङ्कल्प रहेको शान्ताको भनाइ छ ।
आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण उनलाई दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताए ।
शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने राम्रो खेलाडी भएको उनको भनाइ छ । घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले वालिङ नगरपालिकाका प्रमुखसमक्ष तत्काल आवास व्यवस्थापनका लागि गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताए ।
गत हप्ता फुटबल खेलाडी शान्तालाई नेप्लेज डटकमको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा नगद प्राप्त भएको थियो । नेप्लेज डटकमका सम्पादक मुक्तिबाबु रेग्मीले सहयोगस्वरुप प्राप्त रु दुई लाख ५९ हजार नगद शान्ता र उहाँको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।
“खेलप्रति राम्रो लगाव रहेको तर आर्थिक अभावका कारण खेल क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था नआओस् भन्ने हेतुले उनका बारेमा डकुमेन्ट्री तयार पारी प्रस्तुत गर्याै”, सम्पादक रेग्मीले भने, “उक्त डकुमेन्ट्री हेरेर देश तथा विदेशबाट सहयोग प्राप्त भयो ।
जसले गर्दा शान्तालाई केही सहज हुने विश्वास लिएका छौँ ।” घरबारविहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । शान्तालाई अब छिट्टै लालपूर्जा हस्तान्तरण गरी आवास निर्माणको प्रक्रिया शुरु गरिने उनको भनाइ छ ।
नगरपालिकाले राष्ट्रियस्तरमा सहभागी खेलाडीको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा तथा अध्ययनरत खेलाडीलाई सम्बन्धित विद्यालयसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।
नगरपालिकाले उपलब्ध गराउन लागेको जग्गामा आवास निर्माणका लागि आवश्यक सहयोग गर्ने स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।रासस