जाजरकाेट : विद्युतको लाइन विस्तारसँगै प्राविधिकको सङ्ख्या वृद्धि भई काम छिटो छरितो हुनुपर्नेमा दैनिक कर्मचारी अभावले जाजरकोटमा समस्या हुँदै आएको छ ।
११ केभी प्रसारण लाइन सदरमुकाममा आउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १४ जनामा पुगेको छ ।
कूल दरबन्दी सङ्ख्या ३० भए पनि हाल १४ कर्मचारी कार्यरत छन् । पाँच करार, छ ज्यालादारी र तीन जना स्थायी कर्मचारी जिल्लामा कार्यरत रहेको विद्युत् प्राविधिकरणका प्रमुख विशाल लामिछानेले बताए ।
हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्ता सदरमुकाम आएर शुल्क तीर्नसमेत समस्या भएको छ । रु १०० शुल्क तिर्नका लागि रु एक हजार खर्च गर्नुपर्ने बाध्यता हुँदै आएको छ ।
विद्युत्को अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा राख्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको बताइएको छ ।रासस