काठमाण्डाै : नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन् ।
समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले २७२ मत प्राप्त गरेका थिए ।
यस्तै, उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी भएका निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले जानकारी दिए ।
यसैगरी, उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल भएका छन् । निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्य बाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन् ।
आठ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६४३ मत खसेको थियो । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष डा गजुरेलले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषतः बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।रासस