सिन्धुपाल्चोक : जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ ।
वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो । अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको छ ।
बाँदर र बँदेलको आतङ्क
जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतङ्कदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीय कुमार आचार्यले दुखेसो पोखे ।
उनले भन्छन्, “हामी त भोक भोकै मर्ने भयौँ, न राज्यले वास्ता गरेको छ, न बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”
किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उनले भने “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिन्दैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”
बाँदर र बँदेलको आतङ्कबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ ।
बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । रासस