पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर)लाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोट समितिको सिफारिशअनुसार महासङ्घको बैठकले उनिहरूको नाम अनुमोदन गरेको फोनिजका अध्यक्ष एमबी आस्थाले जानकारी दिए । पुरस्कार राशि जनही रु २५ हजार तथा सम्मानपत्र रहेको छ ।
गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत छन् भने मगर नवलपुरको देवचुली टिभीमा कार्यरत छन् । यही साउन २७ मा आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ ।
यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई पुरस्कार प्रदान गरिएको थियो ।रासस