बागलुङ : शङ्खधर बहुमुखी सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका–३ रुम्टामा व्यावसायिक फलफूलखेती थालेको छ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले आज बिरुवा रोपेर फलफूलखेतीको शुभारम्भ गरे । सो अवसरमा उनले कृषि उपज, फलफूल, दूध र मासुजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताए ।
उनले कृषिप्रतिको परम्परागत सोचलाई नभत्काएसम्म व्यवसायीकरण सम्भव नहुने उल्लेख गरे । कृषि नै नेपाली अर्थतन्त्रको मुख्य आधार भएकाले यसमा राज्यले लगानी बढाउनुपर्नेमा उनकाे जोड छ । कृषिमा सहकारीले गरेको लगानीबाट आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जना हुने मन्त्री बुढाको भनाइ छ ।
“सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो, उत्पादनका क्षेत्रमा लगानी बढाउनुस्, सरकारका तर्फबाट हुनुपर्ने सहयोग र समन्वयमा कमी हुँदैन”, उनले भने । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर व्यावसायिक कृषि उत्पादन थालिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतिले जानकारी दिए ।
रुम्टामा रहेको लक्ष्मीनारायण कलामन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो । पहिलो चरणमा आँप, कागती, अङ्गुर र लिचीलगायत गरी तीन सय फलफूलका बोट लगाइएको छ ।
छिट्टै तरकारीखेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि शुरु गर्ने तयारीमा सहकारी छ । ऋण, बचतको काम गर्दै आएको सहकारीले पहिलो पटक व्यावसायिक कृषिमा लगानी गरेको हो । रासस