बुटवल- रुपन्देहीको सैनामैनामा नमुना बस्ती तयार भएको छ । तराइ मधेश समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागीतामा वडा नम्बर ११ को बरौलीमा नमुना बस्ती तयार भएको हो । नमुना बस्तीमा १० वटा घर बनेका छन् । जसमा दुइवटा बेडरुम, एउटा भान्छा कोठा, एटेच बाथरुम रहेको छ । २ वर्ष लगाएर नमुना बस्ती सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएका घरहरु दसैंसम्ममा विस्थापित परिवारलाई वितरण गर्ने सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । ‘सञ्चालनको मोडालिटी, मर्मतको मापदण्ड बनाएर दसैं सम्म वितरण वितरण गछौं।’ उनले भने ‘ठूला विकास निर्माणका कामबाट विस्थापित परिवारहरु, बाढी पहिरो लगायत प्रकोपबाट विस्थापित, सैनामैना स्थायी बसोबास गरेको तर घर व्यवहार विग्रेर, सडकमा आएको परिवारलाई त्यहाँ व्यवस्थापन गर्छौं।’ बस्तीका प्रत्येक घरमा रहेका परिवारका सदस्य मध्ये एक जनालाई रोजगारीको व्यवस्था गर्ने नगरप्रमुख कार्कीले बताए। रोजगारी दिन नसकेमा कमाएर खाने केही कठ्ठा जग्गा उपलब्ध गराउने उनको भनाइ छ।

नमुना बस्ती एउटा घर निर्माणको लागि १८ लाख रुपैया खर्च भएको छ । जस अनुसार सबै १० वटा घर निर्माणको लागि १ करोड ८० लाख र विजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको नगरप्रमुख कार्कीले बताए। त्यस बाहेक कम्पाउण्ड वालको लागि एक करोड बढी लागेको छ। बस्तीको विचको बाटो पनि टायल विच्छाएर आकर्षक बनाइएको छ । नमुना बस्ती कञ्चन खोलाको किनारमा रहेको छ ।
बस्ती बनाउनु अघि कञ्चन नदिमा तटबन्ध गरिएको थियो । तटबन्ध गर्नको लागि साढे २ करोड रुपैया खर्च भएको छ । कञ्चन नदिमा गरिएको तटबन्धनले नमुना बस्तीलाई मात्र नभई आसपासका धेरै बस्तीलाई जोगाएको छ । तटबन्धले नमुना बस्तीलाई मात्र नभइ आसपासका ताली, बरौली लगायत ठाउँहरुको पनि संरक्षण भएको नगरप्रमुख कार्कीकाे भनाइ छ । ‘कञ्चन नदिको कारण वडा नम्बर ११ को ६० प्रतिसत भुभाग डुवानमा पथ्र्यो । ति सबैको लागि संरक्षण भएको छ ।’ उनले भने ।

बस्ती भएको क्षेत्रमा अझै डेढ सय देखी २ सय घर बनाउने योजना रहेको नगरप्रमुख काकीले बताए । ‘त्यहाँ पर्याप्त ठाउँ भएकाले नगरपालिका भरकै विस्थापित परिवारलाई बसाल्ने गरि घरहरु बनाउन पुग्छ ।’ उनले भने ।
यहाँ बनेका घरहरु विपतहरुबाट पनि सुरक्षित रहेको सैनामैना नगरपालिकाका सव इन्जिनियर अरुण खनालले बताए । ‘ट्रस्ट स्टक्चरमा घरहरु बनाइएको छ । हलुका संरचना छ । भुकम्प सहित बाढि पहिरो जस्ता विपदबाट पनि सुरक्षित छ ।’ उनले भने।

