काठमाडौँ - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो।’
त्यस्तै प्रचण्डले केपी शर्मा ओलीसँग सामान्य लोकतान्त्रिक संस्कारको अभाव छ भन्ने प्रष्ट भएको बताए । आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग गर्दै दाहालले देउवा प्रधानमन्त्री हुँदादेखि नै ओलीले देखाएको भूमिकामाथि उनले प्रश्न गरेका हुन् ।
‘अहिले पनि स्वाभाविक लागेको छैन । अस्ति प्रधानमन्त्रीको शपथ ग्रहणको कार्यक्रममा अस्वाभाविक परिघटना भए । नियुक्तिको सन्दर्भमा प्रयोग भएको भाषा संविधानको मर्मविपरित थियो । शपथ ग्रहण नै रोकिएको थियो । यो पटक-पटक हुने विषय थिएन,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साइड–बाइ–साइड बस्ने, चाहे त्यो फरक फरक पार्टीको होस् । र, शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर, शेरबहादुरजीको सन्दर्भमा त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्रीले त्यहाँ उपस्थित हुनु आवश्यक ठान्नु भएन । हेर्दा सानो प्राविधिक विषय भन्न पनि सकिन्छ । तर, यो कोसँग लोकतान्त्रिक संस्कार छ, भिन्न मतलाई सामना गर्ने आँट कोसँग छ भन्ने गम्भिर नैतिकताको प्रश्न छ । यो लोकतन्त्रसँग जोडिएको प्रश्न हो ।’