बुटवल । प्रदेश सभामा प्रतिपक्षले बजेट पास गर्न असहयोग गरेपछि अध्यादेश जारी गर्नु परेको भन्दै लुम्बिनी प्रदेश सरकारले स्पष्टिकरण दिएको छ ।
आज दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्को निर्णयबाट प्रस्तावित बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गरेका थिए । सरकारले त्यसलगत्तै पत्रकारसम्मेलन आयोजना गरेर बजेट पारित गर्नेका लागि सर्वदलीय छलफल गर्न समय माग गरिएपनि प्रतिपक्षले समय उपलव्ध नगराई बजेट विफल गर्ने प्रयत्न गरेकाले अध्यादेशबाट बजेट जारी गर्नुपरेको बताएको छ ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सत्ता पक्षका सांसदको अनुपस्थितीको फाइदा उठाई अन्तिम घडीमा आएर प्रतिपक्षले बजेट विफल गराउन खोजेको आरोप लगाए ।
‘सर्वदलीय छलफल गर्न समय माग गरिएकोमा सोका लागि आवश्यक समय समेत उपलब्ध नगराई केवल आधा घण्टाको लागि मात्र सदन स्थगन गरी पुन: सदन सञ्चलन गर्ने,’ उनले भने–‘सत्ता पक्षका सांसदको अनुपस्थितीको फाइदा उठाई प्रदेश सरकारले पेश गरेको बजेट तथा कार्यक्रम विफल गर्ने प्रयत्न हुन गयो ।’
यस्तो परिस्थितिमा प्रदेश सभाको बैठकमा भाग लिन औचित्यपूर्ण नभएकोले सत्ता पक्षीय प्रदेश सभा सदस्यहरु हिजो प्रदेश सभाबाट बहिरिएको उनको भनाइ छ ।
पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता चौधरीले बजेट तथा कार्यक्रम समयमा छलफलका लागि असार महिनाको अन्तिम दिनमात्र नियोजित रुपमा एजेण्डा तय गरी बैठक राखिएको भन्दै प्रदेश सभाका सभामूखतर्फ इङ्गित गर्दै आरोप लगाए ।
त्यस्तै उनले साउन १ गतेदेखि नै प्रदेश सरकारले प्रदान गर्ने सेवा र कार्यका लागि रकम खर्चको बन्दोबस्त गर्नै पर्ने भएकोले अध्यादेश जारी गर्नुपर्ने बाध्यात्मक परिस्थिमा सरकार पुगेको बताए । उनले भने–‘प्रदेश सरकारले लगाउने विभिन्न करहरु र करहरुको दर निर्धारण नगरी कर संकलन गर्न नमिल्ने साथै विभिन्न प्रकारका सेवा उपर लिइने शुल्क समेत शुल्क निर्धारण नभएसम्म त्यस्तो सेवा प्रदान गर्दा के कति शुल्क लिने भन्ने विषयमा समेत अन्यौलता सिर्जना हुने भएकाले आर्थिक अध्यादेश जारी गर्नु परेको हो ।’