बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पास गर्न विपक्षीले साथ दिएमा विश्वासको मत लिन तयार रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले बजेट पास गर्न सहयोग गरेमा विश्वासको मत लिने बताएका हुन् ।
प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न र सहमति जुटाउन आग्रह गरेका हुन् ।
पोखरेलले भने– विश्वासको मत लिन म तयार छु । त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस् । अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो । मत लिँदा २ अनुसार नभए ३ मा जान्छ । ३ बनाउने अवस्था नआएकै राम्रो । त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ । त्यसमा मेरो रुचि छैन ।’
उनले विपक्षी गठबन्धनलाई छलफलमा सहभागी भएर बजेट पास गर्न दिन अनुरोध गरेपनि विपक्षी गठबन्धनले सरकारलाई सदनमा विश्वास देखाउन चुनौती दिदै आएका छन् । मुख्यमन्त्रीले भने बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गर्दै आएका छन् ।