बुटवल–लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको बजेट अफ्ठ्यारोमा परेको छ । बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको छ ।
बजेटमाथि छलफल गरेर सहमति जुटाउन समय माग गरेर सत्तारुढ दल नेकपा एमालेका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।
छलफलका लागि सभामुखले आधा घण्टाको समय दिएपनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन । सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेश सभा बैठक सूचना टाँसेर शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद् छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपा उपेन्द्र यादव पक्षका ३ जना र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ जना सांसद छन् ।
सदनमा एमालेको बहुमत नपुगेपछि एमालेले बजेट पास हुन नसक्ने देखेपछि थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । जसका कारण उसैले ल्याएको बजेट अलमलमा परेको छ ।
बजेटमाथि सहमति जुटाउनका लागि थप समय आवश्यक परेकाले समय माग गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । उनका अनुसार विपक्षी दलले बजेट पास गर्न नदिए सदन चल्ने छैन । बैठक बहिस्कारपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले विपक्षी दलहरुले बजेट पास गर्न सहयोग गर्नुपर्ने बताए ।
‘समय घर्किसकेको छ, बजेट कार्यान्वयनको समय आएको छ, त्यसैले पनि बजेट पास हुन दिनुपर्छ भन्ने हाम्रो कुरा हो, उनले भने–बजेट पास भएपछि सरकारले संसदमा विश्वासको मत लिन्छ भनेर हामीले उहाँहरुलाई विश्वास दिलाएका छौं, उहाँले समय दिनुप¥यो ।’
तर, विपक्षी गठबन्धनले भने अल्पमतमा रहेको सरकारले बजेट पास गर्न नसक्ने बताएको छ । सहमतिको नाममा सरकारले अलमलमा राखेर बजेट पास गर्ने षडयन्त्र गरेको विपक्षी गठबन्धनको भनाई छ ।
विपक्षी गठबन्धनमा रहेको दल नेपाली कांग्रेसका दलका नेता विरेन्द्र कनौडियाले सरकार स्पष्ट अल्पमतमा रहेकाले बजेट फेल भइसकेको बताए ।
उनले भने–‘अल्पमतमा रहेको सरकारले ल्याएको बजेट पास हुन दिएर हामीले कस्तो संसदीय अभ्यास गर्ने, जनतासामु के जवाफ दिने, त्यसैले उहाँहरुले अल्पमतमा रहेको स्वीकार गर्दै बहुमतलाई नेतृत्व गर्न दिनुप¥यो, होइन बहुमतमा छौं भन्ने लाग्छ भने संसदमा देखाउन सक्नुप¥यो ।’
विपक्षी गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीले नेकपा एमालेले संसदमा भद्दा मजाक देखाइरहेको बताए । उनले अल्पमतमा रहेको दलले सदन फेस गर्नुको सट्टा षडयन्त्रको खेलमा लागेको बताए ।
उनले भने–‘यदि सरकार बहुमतमा छ भने संसदमा फेस गर्न आउनुप¥यो, बजेट पास हुन नसक्ने देखेर बैठक बहिस्कार गर्ने अनि हामी बहुमतमा छौं भनेर हुन्छ, यो सरकारले संसदीय अभ्यासको मजाक उडाएको छ ।’
विपक्षी गठबन्धनकै अर्को दल जनता समाजवादी दलका नेता सहषराम यादवले अल्पमतमा परेको सरकारले षडयन्त्रको तानाबाना बुनिरहेको बताए ।