बुटवल । संसदमा निर्णयार्थ पेश हुनुअगावै सत्ता पक्षले प्रदेश सभा बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ ।
बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका छन् । बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए ।
त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले वजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसंग अनुरोध गरेका थिए । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पनि दलहरुबीच सहमति कायम गरी बजेट पारित गर्नका लागि छलफलका लागि समय मागेका थिए । त्यसका लागि विपक्षि गठबन्धनले सहमति दिन मानेनन् । त्यसपछि सत्तापक्षका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् ।
सदनमा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले वजेट अवैध भएकाले पारित नहुने बताएका थिए । विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन् । आजको बैठकमा सत्ता पक्षका सांसद अजय शाही बिरामी भएर अनुपस्थित भएकाले सरकारको पक्षमा बहुमत नपुग्ने सत्तापक्षले देखेको थियो । साेही कारण सत्तापक्षाका सांसद वैठकबाट बाहिरिएको विपक्षी गठवन्धनले बताएको छ ।
उता मुख्यमन्त्री पोखरेलले बजेटमा सहमतिमा आउन आग्रह गर्दै आफूले विश्वासको मत लिने बताएका थिए । सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न आग्रह गरेका थिए । पोखरेलले भने–‘विश्वासको मत लिन म तयार छु । त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस् । अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो । मत लिँदा २ अनुसार नभए ३ मा जान्छ । ३ बनाउने अवस्था नआएकै राम्रो । त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ । त्यसमा मेरो रुचि छैन ।’
उनले बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गरेका थिए ।
साउन १ गते अगावै वजेट पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले सरकारलाई अब बजेट पारित गर्न संकट परेको छ । सत्तापक्षले बजेटमा प्रतिपक्ष सहमतिमा नआउँदासम्म सदन नचल्ने अडान लिएको छ । मुख्यमन्त्री पोखरेल प्रदेश सभाबाट बाहिरिइसकेपछि ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक शुरु हुने संकेत देखिएको छैन ।
८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित (हृदयेश त्रिपाठी) समूहका अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि सरकारको बजेट पास नहुने देखिएको थियो ।
सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेपनि अन्तिम समयमा आएर सरकार पक्षको प्रयास सफल हुन नसकेको हो ।