बुटवल । सदनबाट बाहिरिएपछि लुम्बिनी प्रदेशको सत्ता पक्षले बजेटमा सहमति नहुँदासम्म सदन चल्न नदिने अडान लिएको बताएको छ ।
सत्तारुढ दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्ष दलहरु बजेटमा सहमतिमा नआउँदासम्म सदन नचल्ने बताएका हुन् ।
प्रदेश सभाबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘जबसम्म बजेटमा सहमति हुँदैन, तबसम्म सदन चल्दैन । सहमतिका लागि हामी प्रयासमा छौं ।’
आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि अहिले सदन रोकिएको छ ।
सहमति जुटाउनका लागि प्रतिपक्षसँग थप छलफल गर्न समय मागेको भएपनि सभामुखले समय नदिएका कारण आफूहरुले बैठक बहिस्कार गरेको नेता ढकालले बताए ।
उनले भने–‘हामीले दलको तर्फबाट सभामुखसँग समय माग्यौं । एकछिन समय दिइयास्, छलफलका गरेर निकास निकाल्छौं भनेका थियौं । तर उहाँले दिनु भएन, अरु प्रतिपक्षका सांसदले पनि दिएन । त्यसपछि हामी सदनबाट बाहिरिएका छौं ।’
सत्ता पक्षको अडानपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेश सभा समय सीमा सकिंदासम्म पनि सूचारु हुन सकेको छैन । प्रतिपक्षी दलका सासदहरू बैठक शुरू गर्न माग गर्दै प्रदेश सभाभित्रै बसिरहेका छन् ।