बुटवल । सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेश सभा पुन: सञ्चालन हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा भवनबाटै बाहिरिएका छन् ।
आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरेका थिए । बैठक साढे ५ बजे सुरु हुनु पर्ने भएपनि मुख्यमन्त्री पोखरेल संसद भवनबाट नै बाहिरिएका छन् ।
यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले उत्तर दिएका थिए । मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै बजेट पारित नहुने देखेपछि सत्ता पक्षले सदन बहिस्कार गरेका हुन् । बहिस्कार गर्नुअघि सत्तारुढ दल नेकपा एमालेका ससदीय दलका सचेतक भूमिश्वर ढकालले बजेट छलफलका लागि थप समय माग गरेका थिए । तर, विपक्षी गठबन्धनले असहमति जनाएपछि बजेट निर्णयार्थ पेश हुनु अगावै सत्तापक्षका सांसदले सदन छाडेका हुन् ।