काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अन्तर्गत दलीय ह्वीप नलाग्ने फैसला दिएको छ । धारा ७६ (५) अन्तर्गत प्रतिनिधि सभाका कुनै एक सदस्यले संसदका बहुमत सदस्यको समर्थन प्राप्त गरेको आधार पेस गरेमा पनि संसद विघटन नहुने प्रावधान रहेकोमा यसमा दलीय ह्वीप लाग्छ कि लाग्दैन भन्ने कुराको व्याख्या गरेको हो ।
प्रतिनिधि सभा विघटन पछि सबैभन्दा धेरै बहसमा आएको धारा ७६ (५) को व्याख्या दलीय ह्वीपका सबै प्रक्रिया धारा ७६ (३) मा समाप्त गरी ७६ (५) लाई दलीय ह्वीप नलाग्ने अदालतको ब्याख्या छ । अदालतले विशेष तवरबाट सरकार दिन सक्नेसम्मको सबै हद खुला गरी संसद बचाइराख्ने भन्ने संविधानको मर्म रहेको स्पष्ट पारेको छ ।
संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि १४६ सांसदको हस्ताक्षर जुटाएर गरिएको दाबीलाई राष्ट्रपतिले मान्यता नदिएपछि उनीहरूले प्रतिनिधि सभा पुनःस्थापना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै जेठ १० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतको अघिल्लो फैसलाको विरुद्धमा केपी शर्मा ओलीको नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेका थियो ।
७६ (५) को विशेष व्यवस्थामा दलीय ह्वीप लाग्छ कि लाग्दैन भन्ने विवादका बीच आज सर्वोच्च अदालतले ७६(५) बमोजिम नियुक्त हुने प्रधानमन्त्रीको लागि समर्थन गरेका आधारमा प्रतिनिधि सभा सदस्यलाई दलले कारबाही या दल त्याग गरेको नठहरिने उल्लेख फैसला दिएको छ ।