काठमाडौं । पार्टीभित्रको विवाद समाधानको विषयलाई लिएर प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।दुई नेताबीच काठमाडौंको होटल मेरिएटमा भएको भेटवार्ता विना निष्कर्ष टुङ्गिएको छ । कार्यदलमा सहमति जुट्न बाँकी रहेका विषयमा दुई नेताबीच सहमतिको प्रयास भएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । उनीहरुबीच ६ बजेदेखि वार्ता भएको थियो । यसअघि कार्यदलका सदस्यहरूले दुई नेताबीच भेट गराउन अनेक प्रयत्न गर्दा पनि नेपाल मानिरहेका थिएनन् ।
दिउँसो कार्यदलका सदस्यहरुका बीचमा भएको छलफलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउन पहल गर्ने सहमति भएको थियो ।
आफूहरुले जति सहमति गरे पनि दुई नेताबीच सहमति नभएसम्म केही नहुने निष्कर्षमा नेताहरु पुगेका थिए । यसअघि गत बैखाख ७ र ८ गते यी दुई नेताहरुबीच होटेल मेरियटमै छलफल भएको थियो । एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए ।
गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।
एमालेको विवाद समाधानका लागि आज पनि कार्यदलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख पुगेको बताएका थिए । उनले आजको वैठकमा कार्यदलका तर्फबाट नेताहरूको विचार र भावना बुझिएको छ, कार्यदलमा छलफल निष्कर्षउन्मुख रहेकाे र सम्भवतः भोलिसम्ममा विवाद टुङ्गो लाग्ने जानकारी गराएका थिए ।
तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको छ । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।