बुटवल- लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजिनामा दिएकी सुमन शर्मा रायमाझीले बर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेश सभा सचिवालयलाई गराएकी छन्। उनले सहश्रराम यादवलाई दलको नेता मानेर काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई कुनै समर्थन नरहेको जानकारी गराएकी हुन् ।
जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य बनेकी रायमाझीले शुक्रबार राज्यमन्त्रीबाट राजिनामा दिएकी थिइन् । उनीसहित जसपाबाट चार जना मन्त्री भएका थिए। मन्त्री भएका चार जनालाई जसपाको महन्त ठाकुर पक्षको समर्थन रहेको थियो भने उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो।
प्रदेश सभा सचिवालयमा बुझाएको पत्रमा उनले जसपाको संसदीय दलको विधानमा २ वर्षसम्म दलको नेता चयन गर्न नपाउने व्यवस्था भएकाले सहश्रराम यादव नै दलको नेता भएको बताएकी छन्।