गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवाबाट पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको बाेलेराे जीप बिहीबार दिउँसो चन्द्रकोटको ८ तुराङ्गमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर जीप चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिष जीसीको ज्यान गएकाे प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले जानकारी दिए।
दुर्घटनामा परेर घाइते भएका जीसीको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा ज्यान गएको हो। दुर्घटनामा गुल्मी दरबार गाउँपालिका २ का ३० वर्षीय शिशिर गौतम र चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरमा बस्दै आएका ४५ वर्षीय श्याम आचार्य घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा लगिएको छ। सामान बोकेर गाउँ जाँदै जीप घुम्ति मोड्ने क्रममा दुर्घटनामा परेकाे हाे। दुर्घटना भएको जीप सडकबाट १२ फिट तल खसको प्रहरीले बताएको छ।
दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको छ।