दाङ-राप्ती उपत्यकाको देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन कार्यालयको स्थापना गरिएको छ । सोमबार राप्ती प्राविधिक शिक्षालयमा कार्यालयको उद्घाटन गरिएको छ। यस अघी देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो ।
प्रदेशको राजधानी व्यवस्थापन कार्यालयको कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले अवको ८ महिना भित्र गुरुयोजना बन्ने र त्यसपछी प्राथमिकताका आधारमा पूर्वाधाहरु बन्ने क्रम सुरु हुने बताए । ‘तपाई राजधानी वासिबाट राजधानी कस्तो बनाउने भन्ने बिषयमा रचनात्मक सुझाव चाहन्छौं’मुख्यमन्त्री पोख्रेलले भने–‘तपाईंका महत्त्वपूर्ण सुझावलाई समेत हामिले राजधानीको गुरुयोजनामा समेट्छौं ।’
पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनिक कार्यालयहरुको पूर्वाधार बनाइने छ । अवको दुई बर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानी संग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना बनाएको छ । राप्ती प्राविधिक शिक्षालयलाइ गोवरडिहामा स्थानान्तरण गरिएको र त्यहाँ नमुना शिक्षालयको रुपमा अघि बढाइने मुख्यमन्त्री पोख्रेलले बताए । प्रदेश सभाको बैठकबाट असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो ।