गुल्मी- जिल्ला अस्पताल तम्घासमा भर्ना हुने बिरामीहरुमा दमका बिरामी तेस्रो नम्बरमा पर्छन्। पहिलोमा निमोनिया र दोस्रोमा टाइफाइडका बिरामी छन्। दम रोग जुनसुकै समय र उमेर समुहका व्यक्तिलाई हुने भएकाले थुप्रै रकम खर्च हुने गरेको छ।
लुम्बिनी प्रदेश सरकारले गरेको निर्णय अनुसार गुल्मी जिल्ला अस्पतालमा पनि विपन्न व्यक्तीहरुको लागि दमको निशुल्क उपचार सुरु भएको छ। प्रदेश सरकारले सवै जिल्लाका सरकारी अस्पतालबाट विपन्नका लागि दमजन्य रोगको निुशल्क उपचार हुने निर्णय गरेको थियो ।
गुल्मी अस्पताल तम्घासमा पुस १ गतेबाट दमजन्य रोगका बिपन्न व्यक्तिहरुको निशुल्क उपचार सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । उनले प्रदेश सरकारले विपन्न दमका बिरामीहरुको निशुल्क उपचार गर्ने अत्यन्तै आवश्यक र महत्वपूर्ण निर्णय गरेको बताए।
उपचारको लागि अस्पताल आउँदा स्थानीय तहको सिफारिस भने अनिवार्य गरिएको छ। पच्याले एक जना बिपन्न दमको रोगी बराबर बर्षमा ५० हजार खर्च गर्ने लक्ष्य प्रदेश सरकारको रहेको जानकारी दिए। फोक्सोको श्वासनलीमा हुने संकुचनका कारण श्वासप्रश्वासमा आउने कठिनाइलाई दम भनिन्छ।
यो रोगले धेरैलाई लामो समय दुख दिइरहेको छ। दमको समस्या भएकाहरुलाई चिसोमा बढि समस्या हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब २५ करोड मानिस दमको समस्याले आक्रान्त छन्। दम रोगका कारण हजारौंले वर्षेनी ज्यान गुमाउने पनि गरेका छन्।