बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको संगमको रुपमा रहेको स्थान दाङको भालुवाङलाई राजधानीको रुपमा तोकेको बताएका छन्।
प्रदेश सभाले राजधानी र नामको टुंगो लगाएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको ऐतिहासिक कार्यभार पूरा गरेको बताए।
उनले विगतमा ६ जिल्लाको पहिचानका रुपमा मात्रै रहेको लुम्बिनीलाई १२ जिल्लामा विस्तार गरेर सदभाव कायम गर्न सफल भएको बताए।
प्रदेश सरकारको एउटा जिम्मेवारी पूरा गरेको बतााउँदै उनले प्रदेशको राजधानी तोकिएको स्थानमा स्थायी संरचना तयार भएपछि सोही स्थानबाट प्रदेश सरकारले कार्यसञ्चालन गर्ने बताए। मुख्यमन्त्री पोखरेलले प्रदेशको संरचना तयार नहुँदासम्म भने अहिले प्रशासनिक कार्यसञ्चालन गरेकै स्थान बुटवलबाट जारी राख्ने बताए।
उनले बुटवल र भैरहवालाई आर्थिक राजधानीका रुपमा विकास गर्न प्रदेश सरकारले छिटै नै कार्यक्रमहरु ल्याउने बताएका छन्।
उनले लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्नका लागि सरकार लागिपरेको बताए। यसअघि प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका थिए।
उनले विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाएर आञ्चलिक मनोविज्ञानलाई तोडेर साझा भावना स्थापित गर्ने विश्वास व्यक्त गरे।
प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व नगरी राप्ती र लुम्बिनीको मनोविज्ञानलाई साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई जोड्ने बताए।
कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे। मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताए।