बुटवल । पर्यटन प्रवद्र्धनको लागि शुक्रबारबाट सुनौली मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरु भएको छ । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनाले नेपाल भारत सिमानाका सुनौलीबाट सुरु गरेको यात्राको प्रतिनिधिसभा सदस्य तथा एमाले नेता बाशुदेव घिमिरेले उद्घाटन गर्नुभयो ।
कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो । यात्रा शुभारम्भमा बोल्दै सांसद घिमिरेले पर्यटन प्रवद्र्धनका लागि यस प्रकारका अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयोे । बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यहाँको सडक सरसफाई, हरियाली, लाइटिङ्ग लगायतबाट प्रभावित बनाउन यस क्षेत्रका पालिकाहरुले मिलेर एकीकृत रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । शुक्रबार धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुने छ । रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधीबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताउनुभयो ।
शनिबार रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ । यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागीता छन । रुरु क्षेत्रमा परापुर्व कालदेखि रहेका धामलाई पवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्राउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताउनुभयो ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दुधर्मलम्बीले पुज्ने गर्दछन् । धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने आयोजकको दावी छ । शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुने छ । महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरुलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरि २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताउनुभयो ।
त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठि, सभा सम्मलेन हुने छ । महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुने छ ।