भैरहवा–अविरल वर्षाका कारण रुपन्देहीको देवदहमा लाखौंको क्षति भएको छ। बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण शुक्रबार भलुही र रोहिणी खोलामा आएको बाढीले देवदह नगरपालिका वडा नम्बर ९ र १० मा रहेका १० घरमा क्षति पुर्याएको छ।
बाढीले भलुहीको आसाम टोल, रोहिणी डाडा, मेडिकल कलेजलाई असर गरेको छ। वडा नम्बर १० बस्ने कमल कुँवरको रोहिणी पोल्टी फार्ममा रहेका एक हजार बोईलर कुखुरा सहित २ कुईन्टल दाना र टेक बहादुर लम्तरीको १० वटा लोकल कुखुरा सहितको खोर बाढीले बगाएको छ।
त्यस्तै सोही ठाउँ बस्ने शेरबहादुर गोतामेको १० वटा हाँस, २ वटा लोकल कुखुरा, २ बोरा दाना, भाडावर्तन सोही ठाउँ बस्ने डिल बहादुर क्षेत्री ३० वटा लोकल कुखुरा, चामल, दाना र २५ के.जी.मलसहित घरको कम्पाउन्ड समेत भत्काएको छ।
यसैगरी वडा नम्बर ९ का विष्णु ज्ञवालीको किराना पसल, खेम थापाको पराल टौवा र मल खाद ईन्द्र जि.सी., खगेन्द्र बहादुर लिम्बुको घर मा बाढी पसेर लत्ताकपडा, खाद्यान्नमा क्षति पुर्याएको छ।
त्यस्तै डिलबहादुर बस्नेतको घरमा बाढी पसी सुनको औठी ४ आनाको र मोबाईलसहित बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्ग बहादुर खत्रीले जानकारी दिए।
बाढीबाट मानवीय क्षति नभएपनि ७ लाख २० हजार बढीको भौतिक क्षति भएको अनुमान छ। एक्कासी घोलाहरु बढेकोले सामान्य घरहरुमा समेत क्षति पुगेको प्रहरी चौकी खैरनीका प्रहरी निरिक्षक दिपक महतले जानकारी दिए।