भैरहवा–जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुर्लभ वन्यजन्तु सालक सहित ५ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालगञ्ज रोड, बुटवलबाट सालकसहित ५ जनालाई पक्राउ गरेको हो।
दुर्लभ वन्यजन्तुको रुपमा रहेको सालक सहित पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका ७ का ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्ला तिनपाटन नगरपालिका ३ का ३२ वर्षिय लोक बहादुर तामाङ, ६० वर्षिय लाल बहादुर तामाङ, सर्लाही जिल्ला हरिओम गाउँपालिका १० बस्ने ६६ वर्षिय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपािलका –१ का ३५ वर्षिय नेत्रमाया राना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए।
बिक्री प्रयोजनका लागि उनीहरुले ल्याएको बुटवल उपमहानगरपालिका वडा नं. ५ नेपालगन्ज रोड सडक किनारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
औषधी प्रयोजनका लागि महत्वपूर्ण मनिने सालक विश्वकै दुर्लभ वन्यजन्तुको रुपमा रहेको छ। फरक फरक ठाउँका व्यक्तिहरु पनि सो अवस्थामा भेटिएकोले थप अनुसन्धान भइरहेको छ।
उनीहरुको साथबाट ५ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरी प्रमुख पोखरेलले बताए। उनीहरुलाई वन्यजन्तु कसुरसम्बन्धी कारबाहीको लागि सालकसहित डिभिजन वन कार्यालय, भैरहवा पठाइएपनि वन कार्यालयका थुनुवा कक्ष भरिएकोले उनीहरु जिल्ला प्रहरी कार्यालयमा छन्।