रुपन्देही–बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीहरुलाई आग्रह गरेकी छिन्।
कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका बुटवल –१३ जितगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरिन्। “कोरोना भाइरस सङ्क्रमण भयो भने सोचेंजस्तो सहज हुँदैन यो सङ्क्रमितहरुले अनुभव गर्नुभएको छ । त्यसैले सावधानी अपनाउन जरुरी छ”–उनले भनिन्।
उच्च मनोवल राखेर कोरोनाविरुद्ध लडेका आचार्य परिवारलाई बधाई दिदै उनले सङ्क्रमितहरुलाई माया र हौँसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गरिन्।
उपप्रमुख आचार्यले सङ्क्रमण नहोस् भनेर सावधानी आपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताइन्।
बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना सङ्क्रमणका समयमा मात्र नभइ टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताए।
कोरोना सङ्क्रमण निको भएपनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्धेश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरिएको सामाजिक अगुवा दीपक पन्थीले जानकारी दिए।
समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ।
शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवार पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो। कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका अर्यालयका परिवारलाई वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले डिस्चार्ज पत्र प्रदान गरेका थिए।