कपिलवस्तु–कोरोना संक्रमण फैलने अझै जोखिम रहेको भन्दै कपिलवस्तुमा फेरि भदौ ३१ सम्मका लागि लकडाउन थपिएको छ। सोमबार राति १२ बजे सम्मका लागि लकडाउन गरिएकोमा आगामी नौ दिनका लागि लकडाउन थपिएको हो।
जिल्लामा गत साउन २२ गतेबाट लकडाउन कायम छ। जिल्लामा १ हजार १५७ कोरोना संक्रमित रहेको र त्यसमध्ये १ सय ६९ जना सक्रिय संक्रमित छन्। समुदायस्तरमा तीब्र रुपमा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि लकडाउन थपिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए।
सो निर्णयपछि अत्यावश्यक सेवा प्रदान गर्ने पसल र कार्यालयबाहेक सबै सेवाहरु बन्द छन्। अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक सबै सरकारी कार्यालय, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ।
बैकिङ संस्था, विद्युत, खानेपानी, दुरसञ्चार कार्यालय भने नियमित हुनेछन्। प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद व्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए।
उद्योग कलकारखाना सञ्चालन गर्न पाईने निर्णय भएको छ। खाद्यान्न तथा तरकारी पानी, माछालगायतका अत्यावश्यकीय वस्तु किन्नका लागि बिहान ८ बजेदेखि दिउसो १ बजेसम्मको समय तोकिएको छ।
जिल्लाका ३ उद्योग वाणिज्य संघले लकडाउन हटाई उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गर्दै प्रशासन र जिल्लाका १० वटै पालिकामा ध्यानाकर्षण गराएका थिए।