काठमाडौं-निजी प्रयोगशालामा परीक्षण गराएको पीसीआर रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्न नसकिने बीमा समितिले बताएपछि स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।
निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई स्वास्थ्य मन्त्रालयले पूर्ण मान्यता दिएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने प्रष्ट पारेको हो।
निजी प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितिले निर्णय गरिसकेका छन्। तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने निजी प्रयोगशाला सरकारकै मापदण्डअनुसार चलेका र उनीहरुको रिपोर्टकै आधारमा कोरोना सङ्क्रमित पहिचान हुने र उपचार गर्ने क्रम चलिरहेकोले त्यसलाई नकार्न नमिल्ने बताए। उनले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई स्वार्थका लागि शंका गर्न नपाइने बताए।
'स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजी या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तिजनक कुरा हो, निजी प्रयोगशालाको पीसीआर रिपोर्ट सरकारलाई मान्य हुने तर बीमा कम्पनीलाई किन मान्य नहुने, यस्तो हुनुहुँदैन, उनले भने।
कोरोना बीमाको नाममा बीमा कम्पनीले १२ लाख भन्दा धेरै व्यक्तिबाट झण्डै ७५ करोड रुपैयाँ उठाइसकेका छन्। उनीहरुले बीमा दावीको रकम दिन पनि आनाकानी गरेको गुनासो आउन थालेका छन्।
एक हजार चार सय ६७ जनाले बीमा भुक्तानी माग गरेकोमा जम्मा दुई सय ३९ जनाले मात्रै भुक्तानी पाएका छन्। यसअघि पनि बीमा समितिले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्न नसक्ने जनाएका थिए। पछि आलोचना भएपछि पुन: बीमा गर्ने प्रतिबद्धता जनाएका थिए।