काठमाडौं-बीमा समितिले निजी प्रयोगशालामा कोरोना परीक्षण गराउनेलाई दाबी भुक्तानी नदिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले भदौ १८ गते सम्पूर्ण निर्जीवन कम्पनीहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
'थप स्पष्ट गरिएको बारे' उल्लेख रहेको उक्त पत्रमा 'नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परिक्षण गर्दा कोरोना भाइरस कोभिड–१९ रोग संक्रमण भएको देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नुहुन ’ उल्लेख गरिएको छ।
यसले निजी ल्याबमा परिक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी नपाउने प्रष्ट गरेको छ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल यो ब्यबस्था मापदण्ड मै रहेको र अहिले त्यो ब्यबस्थालाई थप स्पष्ट पारिएको मात्र बताए।
उनले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट हुने परिक्षणको आधारमा दाबी भुक्तानी पाइने र निजी ल्याबको रिपोर्टले दाबी भुक्तानी नपाइने व्यवस्था शुरुमै उल्लेख भएको बताए।
यस अघि बनेको कोरोना बीमा मापदण्डमा 'नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नु पर्ने' उल्लेख छ।
तर अहिले बीमा समितिले थप स्पष्ट पार्न भन्दै 'मात्र' भन्ने शब्द थपेर निजी ल्याबको रिपोर्ट पेश गरे दाबी भुक्तानी नपाइने ब्यबस्था गरेको हो।