बुटवल-रुपन्देहीमा भदौ २० गतेसम्म जारी निधेषाज्ञाको अवधि थप नगर्न दबाब सिर्जना भएको छ। रुपन्देहीका उद्योगी व्यवसायीका संस्थाहरुले निधेषाज्ञाको अवधि थप नगर्न दबाब दिइरहेका छन्।
तर, स्वास्थ्य मन्त्रालयले ६ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा निषेधाज्ञा जारी राख्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई निर्णय लिन संकट परेको छ।
रुपन्देहीमा ६ सय भन्दा बढी सक्रिय संक्रमित छन् भने पछिल्लो केहीदिनयता संक्रमितको ज्यान जाने क्रम पनि बढेको छ। यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि अरु थप गर्ने मनस्थिति बनाएको छ भने निजी क्षेत्रको दबाबका कारण कसरी व्यवस्थापन गर्ने भन्ने संकट परेको छ।
आज दिउसोदेखि जारी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले यसबारे निर्णय लिने अपेक्षा गरिएको छ।
रुपन्देहीमा भोलि भदौ २० गते रातीदेखि निषेधाज्ञाको अवधि सकिदैछ। अवधि सकिनु १ दिन अघि बैठक डाकेर सीसीएमसीले निजी क्षेत्रको धारणा बुझेर निर्णय लिने मानसिकता बनाएको छ।