काठमाडौँ –निषेधाज्ञाबीच बिहीबार मछिन्द्रनाथको रथ तानेपछि शुरु भएको विवाद र प्रदर्शनलाई लक्षित गरेर स्थानीय प्रशासनले ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि कर्फ्यू लगाएको छ। बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ।
मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने निर्णय गरेको थियो।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ।
कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ।
कर्फ्यू जारी भएको क्षेत्रमा घरबाट बाहिर निस्केमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ।