नेपालगञ्ज–बाँकेको जानकी गाउँपालिका वडा नं. ३ निवासी ८८ बर्षीय वृद्धले कोरोना जितेर आज बिहीबार घर फर्किएका छन्।
भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि खजुराखुर्दस्थित कृषि तालिमम केन्द्र आइसोलेसन केन्द्रमा राखिएकोमा १४ दिनसम्म कोरोना सम्बन्धि कुनै लक्षण नदेखिए पछि आज डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, आज ८८ वर्षीय वृद्धसहित नेपाली सेनाका १७ समेत गरी बाँकेबाट २४ जनाले कोरोना जितेर घर फर्किएका हुन्। आज घर फर्किनेमा जानकी गाउँपालिकाका ८८ बर्षीय एक वृद्धसहित ५, नेपाली सेनाको मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका १७ नेपाली सेना र नेपालगञ्ज उपमहानगरपालिकाका २ गरी २४ जना रहेका छन्।
बाँकेमा आजसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ७ सय ८३ पुगेको छ। बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ। जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ६ जना सङ्क्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।