बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार १८५ उजुरी दर्ता भएका छन् । जसमा ४७४ उजुरी अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका हुन् । कुल उजुरी मध्ये अधिकांश स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।
अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुसार कुल उजुरी मध्ये एक हजार ७५१ अर्थात् ८०.१४ प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । अघिल्लो आव ०७९/०८० मा एक हजार ५२३ उजुरी दर्ता भएकामा ६९.१४ प्रतिशत मात्रै उजुरी फर्छ्योट भएका थिए । एक वर्षको अवधिमा फछ्र्यौट भएका एक हजार ७५१ उजुरी मध्ये ४१ वटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ । ८४९ तामेली गरिएको, ११२ उजुरी सुझाव सहित तामेली गरिएको, ३५२ उजुरी आवश्यक कानुनी कारवाहीका लागि पठाइएको प्रमुख पौडेलले बताए । यस्तै ३९७ उजुरी अन्य मिल्दो उजुरीमा गाभिएको छ भने प्रारम्भिक छानबिनको क्रममा रहेका ४३४ उजुरी चालु आवमा जिम्मेवारी सरेर आएका छन् ।
आयोगमा स्थानीय तहको संघीय मामिलामा एक हजार ९८ उजुरी दर्ता भएकोमा ८७६ फछ्र्यौट भई २२२ बाँकी छन् । स्थानीय तहको शिक्षामा ४२१ उजुरी दर्ता भएकोमा ३४६ फछ्र्यौट भई ७५ बाँकी छन् । यस्तै, प्रदेश वन तथा वातावरण मन्त्रालयमा ७३ उजुरी दर्ता भएकोमा ५८ फछ्र्यौट भई १५ बाँकी छन् । भूमी व्यवस्थामा १८१ उजुरी दर्ता भएकोमा ८७६ फछ्र्यौट भई २२२ बाँकी छन् । स्वास्थ्यमा ७५ उजुरी दर्ता भएकोमा ७३ फछ्र्यौट भई २ बाँकी छन् । अन्य ३३७ उजुरी दर्ता भएकोमा २६९ फछ्र्यौट भई ६८ बाँकी रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले सोमबार आव ०८०/०८१ को ३४ औँ वार्षिक प्रतिवेदन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीलाई बुझाएको छ । वार्षिक प्रतिवेदन बुझाउँदै अख्तियार कार्यालयका प्रमुख पौडेलले आयोगले संविधानले दिएको अधिकार प्रयोग गरी तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । सोही अवसरमा प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख घर्तीले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न नागरिकदेखि राज्यको सबै तह र ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उनले जोड दिनुभयो ।
अख्तियार बुटवलले लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ (मन्त्रालय) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हेर्ने गर्छ । यस्तै बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले दाङ (स्थानिय तह), रोल्पा, बाँके र बर्दिया जिल्ला हेर्ने गर्छ । सम्पर्क कार्यालय नेपालगञ्जमा कुल एक हजार ४५ उजुरी दर्ता भएकामा ८७६ अर्थात् ८३.८३ प्रतिशत फछ्र्यौट भएका छन् ।