काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपतका घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि मंगलबार बिहानसम्म बाढीपहिरामा परेर ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।
बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपाया मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन्। विपत् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ।
बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु। १० करोड १८ लाख ८५ हजार सात सयबराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। रासस