बुटवल । बुधबार बिहानदेखि परेको वर्षाका कारण रुपन्देहीका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक, कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन् ।
अविरल वर्षाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।
योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू ४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।
जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।
आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल आउँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।
जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।
कपिलवस्तु, पाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । निरन्तरको वर्षासँगै तिनाउ नदीमा बाढी आउने जोखिम रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।