बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक आचार्य तेस्रोपटक नियुक्त हुनुभएको हो ।
विश्वविद्यालयले रजिस्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो । खुला प्रतिस्पर्धा गर्दा पहिलो नम्बरमा रहनुभएका आचार्यलाई उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्तिपत्र प्रदान गर्नुभएको हो । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ ।
रजिष्ट्रार नियुक्त हुनुभएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम गरी सक्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापितगरी हालको अवस्थामा पु¥याउने काममा उहाँलाई रोलमोडलका रूपमा लिने गरिएको छ । आचार्य पहिलो पटक रजिष्ट्रार भएपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्थानान्तरण गर्नुभएको थियो ।
विश्वविद्यालय स्थापनाको १० वर्षसम्म काठमाडौंमा सीमित रहेको थियो । रजिष्ट्रार आचार्यले पहिलो कार्याकालमा विश्वविद्यालयका तीन वटा नियमावलीहरू बनाउनुभएको थियो । केन्द्रीय क्याम्पसमा पहिलो पटक कक्षा सञ्चालन, खडैयामा विश्वविद्यालयका लागि जग्गा प्राप्ती, लुम्बिनीमा आठ कोठाको भवन निर्माण तथा पहिलो दीक्षान्त समारोह पहिलो कार्यकालमा उहाँले सम्पन्न गर्नुभएको थयो ।
दोस्रो कार्यकालमा उहाँ रुपन्देहीको देवदहमा झण्डै एक सय विगाहा जमिन विश्वविद्यालयको भोगाधिकारमा ल्याउन सफल हुनुभएको थियो । देवदहमा डिन कार्यालय स्थापना गरी शैक्षिक कार्यक्रम सञ्चालन, बुटवलको नयाँ गाउँमा झण्डै ६ बिगाहा जग्गा प्राप्ती र कलेज स्थापना गर्नुभएको थियो ।
विश्वविद्यालयका तीन वडा डिन कार्यालयको संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालनमा उहाँले काम गर्नूभएको थियो । लुम्बिनीमा केन्द्रीय पुस्तकालय, केन्द्रीय कार्यालय, बुटवलमा शैक्षिक भवन तथा देवदहमा डिन कार्यालयको भवन निर्माणको काम यो चरणमा सकिएको विश्वविद्यालयले जनाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तीन आर्थिक वर्षमा बेजुरु फर्छ्योटमा उत्कृष्ट भई पुरस्कृतसमेत भएको आचार्य बताउनुहुन्छ । आचार्य रजिष्ट्रार बनेपछि नै स्थायी शिक्षक र कर्मचारी नियुक्तिको काम अघि बढेको थियो ।
तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विकास हुँदै गरेको विश्वविद्यालयका लागि अनुभवी पदाधिकारीको आवश्यक रहने भन्दै उहाँले आफूले विश्वविद्यालयलाई अझै उचाईमा पु¥याउने बताउनुभयो । देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसँगै लगिने उहाँले बताउनुभयो । उहाँले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिनूभयो ।
रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहनुभएको थियो । रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र विद्वान प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले सिफारिस गरेको हो ।