बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। लु २ च ८५३१ नम्बरको कार बुधबार राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो।
दुर्घटनामा स्याङ्जाको पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कार क्षतिग्रस्त भएको छ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटना दुई जना घाइते हुनुभएको छ । बुटवल–९ मिलनचोककी ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल–११ होराइजन चोककी ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते हुनुभएको छ ।
उहाँहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।
पर्यटकीय क्षेत्र नुवाकोटबाट जितगढी झर्ने ओरालो सडकको घुम्तीबाट कार एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
उहाँहरु बुधबार नै नुवाकोट घुम्न गएको र फर्कने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाको कारणबारे खुलिसकेको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।