काठमाडौं । नेपालमा यस वर्षको मनसुन सोमबारदेखि भित्रिएको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भएपनि यस वर्ष सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ । नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन फैलिने महाशाखाले जनाएको छ । नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । ‘नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्छ,’ मौसमविद् सञ्जीव अधिकारीले भन्नुभयो, ‘हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भर पर्ने हुन्छ । पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्न सक्छ ।’
यो वर्ष पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायुको वेग रहेकाले देशभर मनसुन फैलन केही दिन लाग्न सक्ने उनले बताए । पूर्वबाट पश्चिमतर्फ वायुको वेग रहेको अवस्थामा भने देशभर मनसुन फैलन धेरै समय नलाग्ने उहाँको भनाइ छ ।
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्छ । गत वर्ष अर्थात् २०२३ मा एक ढिलो गरी जुन १४ मा नेपाल प्रवेश गरेको मनसुन १३ दिन ढिलो २८ असोजमा बाहिरिएको थियो । विभागका अनुसार, नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्छ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मनसुन भनेको हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ । मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो ।
ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र यहाँ बंगालको खाडीबाट मनसुनी हावा आउने बताउनुभयो ।
गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुनले प्रवेश गर्ने मौसविद् कँडेलले बताउनुभयो ।
१८ लाख मानिस प्रभावित हुने आकलन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनजन्य विपदबाट १८ लाख जना नागरिक प्रभावित हुने आकलन गरेको छ । प्राधिकरणले ४ लाख १२ हजार घरधुरी कुनै न कुनै हिसाबले प्रभावित हुन सक्ने अनुमान गरेको छ । मनसुनजन्य विपदबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान छ । अघिल्लो वर्ष प्रकोपमा परेर ३० जनाको मृत्यु भएको थियो ।
यसवर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । मधेसमा ४ लाख २९ हजार ४०४ जना र ९८ हजार २६२ घरधुरी प्रभावित हुने आकलन छ ।
बागमतीमा १ लाख ४५ हजार ८८३ जना प्रभावित हुने अनुमान गरिएको छ । बागमती प्रदेशमा ३३ हजार ३७१ घरधुरी प्रभावित हुने आकलन छ । गण्डकीमा १ लाख १० हजार ५५४ जना र २५ हजार २९८ घरधुरी प्रभावित हुने आकलन छ ।
यस्तै लुम्बिनी प्रदेशमा पनि मनसुनजन्य विपदबाट ३ लाख ३६ हजार ५५८ जना प्रभावित हुने आकलन छ । ७७ हजार १६ घरधुरी र १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने आकलन छ । कर्णाली प्रदेशमा ५० हजार ४६४ जना प्रभावित हुने प्रक्षेपण छ । ११ हजार ५४८ घरधुरी प्रभावित हुने र ५ हजार घर प्रत्यक्ष प्रभावित हुने आकलन छ । सुदूरपश्चिममा मनसुनजन्य विपदबाट २ लाख ३३ हजार १९० जना र ५३ हजार ३६२ घरधुरी प्रभावित हुने आकलन छ ।