बुटवल । लुम्बिनीको विकासका लागि राजनीतिक सोँचभन्दा माथि उठ्नुपर्नेमा जोड दिइएको छ । संज्ञान मिडिया प्रा.लिद्धारा संचालित खबरकुरा डटकमले तेस्रो वर्ष पुरा गरेर चौथो वर्ष प्रवेशको अवसरमा बुटवलमा आज ‘समृद्ध लुम्बिनी प्रदेश ः बुटवल र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले समृद्ध प्रदेशको नेतृत्व बुटवलले गर्नुपर्ने विचार राखे ।
उनीहरुले बुटवलबाट गइसकेको राजधानीलाई सम्झेर बुटवलको विकास नहुने भन्दै बुटवल शहरलाई गुल्जार बनाउन सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठले विकासको कामलाई संस्थागत र निरन्तरता जरुरी रहेको बताउनुभयो । पुर्वाधार विकास भएपनि यहाँ उद्योग र ब्यापारको पक्षमा बलियो नीति नबन्दा फस्टाउन नसकेको भन्दै यसमा सरकारको ध्यानाकर्षण हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मिडियाको सकारात्मक आलोचना जरुरी रहेको बताउँदै बाहिरी पक्षबाट आउने रचनात्मक आलोचना सुधारमा सहयोग सिद्ध हुने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघलाई पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था बनाउन चाहेको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा पर्यटन ब्यवसायी गोपाल रानाले बुद्ध जन्मस्थल लुम्बिनी, रामापिथेकसको अवशेष भेटिएको स्थलसहित धेरै धार्मिक, सामरिक र पर्यटकीय स्थलको व्यापक प्रचार गरी पर्यटनबाट फाईदा लिन नसकिएको बताउनुभयो । सरकारले कृषि, खेलकुद र पर्यटनसंगै जोड्ने गरी एकीकृत विकासको नीति बनाउन नसकेको उहाँले दुःखेसो गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले रुपन्देही मोफसलको राजधानी भनिएअनुसार निर्मम समीक्षा जरुरी रहेको बताउँदै बुटवलको विकासलाई बुदागत प्राथमिकता गरेर सबै पार्टीहरुबाट लबिङ हुन जरुरी रहेको धारणा राख्नुभयो ।
नाटाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले दुई वटा केबलकारसंगै अब बुटवल चलायमान हुने अवसरका रुपमा देखिएको भन्दै पर्यटन विकासबाट आर्थिक लाभ लिने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
ब्यवसायी पदम श्रेष्ठले राजनीति मुल नीति भएको भन्दै राजनितिबाट समस्याको समाधान निस्कने बताउनुभयो ।
कार्यक्रममा नेवाःपुच नेवा समितिका काजिमान श्रेष्ठ, महिला उद्यमी ज्ञानु केसी, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहरा, उपाध्यक्ष कृष्ण पराजुली, राष्ट्रिय उद्योग ब्यापार संगठनका पदम जीसी, नेपाल राष्ट्रिय उद्यान संघका अध्यक्ष खेम लुईटेल, उपभोक्ता हित संरक्षण मंच बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुन्द्र जिसि, ब्यवसायी हरि अर्याल विकासमा राजनीति गर्न नहुने धारणा राख्नुभयो ।
खबरकुरा अनलाइनका प्रबन्ध सम्पादन शरण कर्माचार्यले मिडिया हाउस बचेमात्र पत्रकारिता बच्ने बताउँदै उद्योगी व्यवसायीलाई विज्ञापनलाई पनि लगानीको एउटा पाटो मानेर लगानी गर्न आग्रह गर्नुभयो ।