दाङ–प्युठानमा घरबिदामा गएर क्याम्पमा फर्किएका १४ जना सैनिकमा कोरोना पोजेटिभ पुष्टि भएको छ। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका १४ जना सैनिक जवानमा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
सोमबार एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गरिएकोमध्ये १२ देखि ४६ वर्ष उमेर सम्मका ३ महिला र अरु पुरुष छन्।
स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, एक जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदीले जानकारी दिए।
अर्का एक जना संक्रमितको ठेगाना भने खुल्न बाँकी छ। सोमबार आएको रिपोर्टसँगै प्युठानमा सक्रीय संक्रमित २८ जना भएका छन् । यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ।