नेपालगन्ज–बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका वडा नं. २ निवासी एक महिलाको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो। यसअघि बाँकेकै बैजनाथकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए।
निमोनिया र उच्च रक्तचापको समस्या भएपछि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० वर्षीया महिलाको उपचारकै क्रममा आईतवार दिउँसो ३ बजे तिर मृत्यु भएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, ती महिला तीन दिन अघि साउन २३ गतेदेखि अस्पतालमा उपचार भईरहेको थियो। कोरोना आशङ्कामा स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएकी महिलाको उपचारकै क्रममा आज आइतबार दिउँसो मृत्यु भएको हो।
सङ्क्रमित महिलाको मृत्यु भएपछि उपचारको क्रममा सम्पर्कमा आएका चिकित्सक, नर्स र सफाई कर्मचारी गरी ८० जनालाई क्वारेन्टिनमा राखिएको डा. श्रेष्ठले बताए।
नेपाली सेना र अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको आजै शव ब्यवस्थापनको तयारी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
३० प्रहरी सहित ४८ मा सङ्क्रमण
बाँकेमा आईतबार मात्रै ३० प्रहरी सहित ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख सहित ३० जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।
उनका अनुसार, आईतबार थपिएका सङ्क्रमितहरुसँगै बाँकेमा कोरोना भाईरसबाट सङ्क्रमण हुने प्रहरीको सङ्ख्या ३६ पुगेको छ। आइतवार थप भएका सङक्रमितसहित बाँकेमा कूल सङ्क्रमितको सङ्ख्या छ सय १५ पुगेको छ।